काठमाडौं । बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालन भइरहेको नेपाली चिकित्सकहरूको निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले साउन १७ गतेदेखि पाँचदिने शिविर सञ्चालन गरिरहेको हो।
नेपाल नेत्रज्योति सङ्घका अनुसार शिविरको दोस्रो दिनसम्म १ हजार ३६५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ भने १३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया सम्पन्न भएको छ।
शिविरमा विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञसहित १३ सदस्यीय चिकित्सकीय टोलीले सेवा दिइरहेको छ। टोलीमा डा. प्रज्ञा लुइँटेल, डा. गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो. रफिकलगायत अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन्।
नेपाल नेत्रज्योति सङ्घ र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको शिविरबाट करिब ३ हजार बङ्गलादेशी नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराइएको छ।
शिविरको उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा उपलब्ध अन्तर्राष्ट्रियस्तरको आँखा उपचार सेवामा बङ्गलादेशी नागरिकको पहुँच विस्तार गर्न भिसा प्रक्रिया सहज बनाउन र विराटनगर–सैदपुर सिधा हवाई सेवा सञ्चालन गर्न आवश्यक रहेको बताए। उनका अनुसार यसले स्वास्थ्य पर्यटन प्रवर्द्धनसँगै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप मजबुत बनाउनेछ।
बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपाली आँखा अस्पतालहरूले प्रदान गरिरहेको गुणस्तरीय र किफायती सेवाले नेपाललाई स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको बताए। उनले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरीय सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई समेत सुदृढ बनाएको उल्लेख गरे।
शिविरको उद्घाटन बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गरेका थिए।
विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणमा दुई देशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गरे।
भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिको सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रम सन् २०२३ देखि निरन्तर जारी छ। यसअवधिमा बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन्।
नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि नेपालभर २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रमार्फत सेवा विस्तार गर्दै आएको छ। साथै भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया र इथियोपियालगायत विभिन्न देशमा प्राविधिक सहयोग, स्वास्थ्यकर्मी तालिम, निःशुल्क आँखा शिविर तथा विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको छ।
सङ्घका अनुसार पछिल्ला वर्षहरूमा गुणस्तरीय तथा किफायती नेत्र उपचारका लागि बङ्गलादेशबाट नेपाल आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ। ठाकुरगाँवमा जारी शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वास अझ सुदृढ बनाउनुका साथै स्वास्थ्य पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।




