काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्ती तटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित संस्कृत शिक्षा, संस्कृति संरक्षण र गुरुकुलीय परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै अध्ययन–अध्यापन सञ्चालन गरिरहेको छ।
वि.सं. २०५६ मा स्थापना भएको विद्यालयमा हाल कक्षा ५ देखि ९ सम्म पठनपाठन भइरहेको छ। विद्यालयमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका ४० जना विद्यार्थी अध्ययनरत रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले संस्कृत शिक्षा नेपाली संस्कार, संस्कृति र धार्मिक परम्परासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसको संरक्षणका लागि संस्कृत शिक्षाको विस्तार आवश्यक रहेको बताए। उनका अनुसार संस्कृत भाषाको प्रयोग र महत्व पछिल्ला वर्षमा पुनः बढ्दै गएको छ।
संस्कृत अध्ययन गरेका विद्यार्थीले कर्मकाण्ड, ज्योतिष, भागवत वाचनलगायतका क्षेत्रमा सीप हासिल गरी स्वदेश तथा विदेशमा समेत रोजगारी र आयआर्जनका अवसर प्राप्त गर्ने गरेका छन्।
गोरक्षेश्वर धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले संस्कृत भाषा, साहित्य र वैदिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालय स्थापना गरिएको जानकारी दिए। सुरुमा विभिन्न स्थानमा सञ्चालन भएको विद्यालय २०५६ सालदेखि गोरक्षेश्वर धाम परिसरमा स्थायी रूपमा सञ्चालन हुँदै आएको हो।
विद्यालयका सहायक प्रधानाध्यापक सविन नेपालका अनुसार गुरुकुलीय पद्धतिअनुसार अध्ययनरत विद्यार्थीलाई निःशुल्क आवास, भोजन र शिक्षाको व्यवस्था गरिएको छ। संस्कृत भाषा, वेद, व्याकरण तथा कर्मकाण्डसम्बन्धी ज्ञानको संरक्षण र प्रचार–प्रसार विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए।
विद्यालयमा संस्कृत वेद पुस्तकालय, योग तथा सङ्गीत कक्षा, अक्षरारम्भ, व्रतबन्ध, वसन्त पञ्चमी तथा सरस्वती पूजा लगायतका कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्। नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरसँगको सहकार्यमा गुरुकुल प्रवर्द्धन तथा रुद्राभिषेक यज्ञसम्बन्धी अध्यापनसमेत भइरहेको छ।
विद्यालयले अध्ययनरत बटुकहरूको आवास, भोजन तथा शैक्षिक व्यवस्थापनका लागि रु १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। हाल हेटौँडा उपमहानगरपालिकाको बीउ पुँजीसहित उक्त अक्षयकोषमा करिब रु १८ लाख जम्मा भइसकेको विद्यालयले जनाएको छ।
अक्षयकोष विस्तारका लागि विद्यालयले आजीवन, विशिष्ट तथा संस्थागत सदस्यता कार्यक्रम सञ्चालन गर्नुका साथै दाताहरूको सहयोगबाट गुरुकुल शिक्षाको दिगोपन सुनिश्चित गर्ने अभियानलाई निरन्तरता दिएको छ।




