पोखरा। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक सङ्घले आह्वान गरेको देशव्यापी आन्दोलनका कारण पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ।
नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाका अध्यक्ष डा. सुनिल पनेरुका अनुसार आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा बन्द गरेका छन्।
आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फेवा सिटी अस्पताल लगायतका स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द हुँदा सयौँ बिरामी नियमित उपचारबाट वञ्चित भएका छन्।
डा. पनेरुले बहिरङ्ग सेवा मात्रै स्थगित गरिएको स्पष्ट पार्दै आकस्मिक, भर्ना तथा अन्य अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए।
उनका अनुसार यो आन्दोलन नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यक्रमअन्तर्गत भएकाले आन्दोलन जारी राख्ने वा फिर्ता गर्ने निर्णय पनि केन्द्रबाटै हुने छ। हालसम्म आन्दोलन कायमै रहेको उनले बताए।
चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पतालमा हुने दुर्व्यवहारका घटनामा दोषीमाथि कडा कानुनी कारबाही तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।




