काठमाडौँ। एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पराजित भएको छ ।
शुक्रबार मलेसियाको बायोमास ओभल मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल सुपर ओभरमा पराजित भएको हो । सेमिफाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला यू-१९ एसिया कपका लागि भने छनोट भएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुगेर चार टिम एसिया कपका लागि छनोट भएका हुन् ।
सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको युएईलाई नेपालले १९ ओभर ५ बलमा एक सय रनमा समेटेको थियो । १०१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १०० रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको नेपालले मात्र ६ रनको चुनौती दिएको थियो । उक्त चुनौती युएईले मात्र तीन बलमा ७ रन बनाउँदै भेट्टाएको हो । यो जितसँगै यूएई फाइनलमा पुगेको छ ।
अब युएईले उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इन्डोनेसियालाई ३१ रनले हराउँदै थाइल्यान्ड फाइनल पुगेको हो । नेपालले भने तेस्रो स्थानका लागि इन्डोनेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । फाइनल र तेस्रो स्थानका दुवै खेल शनिबार हुँदैछन् ।




