काठमाडौं । डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर तीनमहिने डेङ्गु सचेतना अभियान सुरु गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन हुनेछ।
अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरी लामखुट्टेको प्रजननस्थल खोज्ने र नष्ट गर्ने कार्य गरिनेछ।
मन्त्रालयका अनुसार स्थानीय तह, वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकारवाला निकायसँग समन्वय गरी समुदायको सहभागितामा हरेक हप्ता लामखुट्टेको बासस्थान सफा गर्ने अभियान सञ्चालन गरिनेछ।
स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप, ग्यारेज, कबाडी स्थल, निर्माणाधीन भवन तथा पानी जम्न सक्ने अन्य स्थानको नियमित अनुगमन गरी पानीको निकास व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।
डेङ्गुविरुद्ध व्यवहार परिवर्तन गराउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्थामार्फत ‘साथी शिक्षा कार्यक्रम’ र ‘विद्यालय सरसफाइ अभियान’ सञ्चालन गरिनेछ। साथै विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित अनुगमन गरिने जनाइएको छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार साउनदेखि डेङ्गु संक्रमण क्रमशः बढ्दै जाने, भदौमा उच्च बिन्दुमा पुग्ने र असोज–कात्तिकसम्म जोखिम रहने भएकाले यही अवधिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो।
उनले होटल, ग्यारेज, कबाडी स्थल, विद्यालय, सरकारी कार्यालयलगायत बढी जोखिम भएका स्थानलाई प्राथमिकतामा राखेर सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए। नागरिक स्वयंले घर–आँगन सफा राखे डेङ्गु संक्रमण उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ।
महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा ५६ हजार, सन् २०२३ मा ५२ हजार, सन् २०२४ मा ४६ हजार र सन् २०२५ मा डेङ्गु संक्रमितको संख्या घटेर आठ हजारमा सीमित भएको छ।
स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ देखि देशव्यापी रूपमा ‘साउन, भदौ र असोज : डेङ्गु सचेतना तीनमहिने अभियान’ सञ्चालन गर्दै आएको जनाएको छ। यस अभियानले जनचेतना अभिवृद्धिसँगै समुदायको सक्रिय सहभागिताबाट डेङ्गु नियन्त्रणमा सकारात्मक प्रभाव परेको मन्त्रालयको विश्वास छ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले पनि सबै स्थानीय तहलाई डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था र सामुदायिक निकायसँग समन्वय गरी अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न परिपत्र गरेको छ।




