काठमाडौँ । साविक विजेता अर्जेन्टिना कठिन संघर्षपूर्ण जित निकाल्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मियामीमा सम्पन्न अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयसम्म लम्बिएको प्रतिस्पर्धामा ३–२ गोलले पराजित गरेको हो ।
अर्जेन्टिनाको जित १११औँ मिनेटमा केप भर्डेका डिने बोर्जेसको आत्मघाती गोलबाट सुनिश्चित भयो । लियोनल मेसीको सेटपिस क्लियर गर्ने प्रयासमा बोर्जेसबाट आफ्नै पोस्टमा गोल भएपछि अर्जेन्टिनाले निर्णायक अग्रता बनाएको थियो ।
खेलको २९औँ मिनेटमा मेसीले लिसान्द्रो मार्टिनेजको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै मेसी विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
केप भर्डेले ५९औँ मिनेटमा डेरोय डुआर्टेको गोलबाट खेल बराबरीमा ल्यायो । निर्धारित समयमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा कायम राखेका थिए ।
अतिरिक्त समयको सुरुआतमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालले बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो ।
खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिएको अवस्थामा अर्जेन्टिनाले आत्मघाती गोलको मद्दतमा विजयी गोल पायो । अन्तिम समयमा गोलरक्षक एमिलियानो मार्टिनेजले लगातार दुई उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको जित सुरक्षित गरे ।
यससँगै पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको केप भर्डेको ऐतिहासिक यात्रा अन्त्य भएको छ । अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।




