गाईघाट ।उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ। जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ।
जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो। जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक ४५० देखि ५०० सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन्। अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक ५०० का हाराहारीमा बिरामी बढेपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ।
साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौको शरुमै वृद्धि भएर ४५० देखि दैनिक ५०० को सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताए। भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन्।
वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं. १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा- १२ का वडाध्यक्ष नवीनकुमार राईले बताए।




