देश

शिक्षक नियुक्ति खुला प्रतिस्पर्धामार्फत गर्न विद्यार्थी संगठनको आग्रह

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति प्रक्रिया शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने माग राख्दै १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनहरूले शिक्षाको गुणस्तर शिक्षकको योग्यता र नियुक्ति प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले संविधानले अंगीकार गरेको समावेशी मूल्य र योग्यता प्रणालीअनुसार मात्र नियुक्ति सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्छ । शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहित शतप्रतिशत खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ ।”

विद्यार्थी संगठनहरूको आरोप छ कि सरकारले पटक–पटक शिक्षक ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि अझै ऐन कार्यान्वयन नभएकाले विद्यार्थीका मुद्दा र विधेयकलाई उपेक्षा गरिएको छ । उनीहरूले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् ।

यसबाहेक ज्ञापनपत्रमार्फत विद्यार्थी संगठनहरूले माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क सुनिश्चित गर्ने व्यवस्था अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *