देश

संविधान सभा सदस्य यादवको निधन

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ निवासी यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको छ।

छोरा सत्येन्द्र यादवका अनुसार उनी मधुमेहबाट लामो समयदेखि पीडित थिए। यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट बारा–१ बाट निर्वाचित भएका थिए।

स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्यसमेत थिए। उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्। उनको अन्त्येष्टि आज दिउँसो १ बजे गरिने परिवारले जनाएको छ।

नेता यादवको निधनले नेपाली कांग्रेस बाराले एक अभिभावक गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *