ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिपी स्मृति भवन, ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव तथा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
महामन्त्री गगनकुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण र भ्रातृ संस्थाका निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तारसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, तथा केन्द्रीय सदस्यहरू— डा. शेखर कोइराला, बलबहादुर के.सी., कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाह ले आ–आफ्नो धारणा राखेका छन्।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको जनाइएको छ। बैठक फेरि असार १७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ।





