भद्रपुर (झापा)।नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति विना मुलुकको समुन्नति सम्भव नहुने बताएका छन्।
नेपाल किसान महासङ्घ झापा द्वारा आज हल्दीबारीमा आयोजित धान महोत्सवमा बोल्दै सिटौलाले संविधानले किसानलाई प्राथमिकतामा राखेकाले स्थानीय तथा प्रदेश सरकारहरूले किसानको जीवनस्तर सुधार गर्ने योजनाहरू ल्याउनु आवश्यक रहेकोमा जोड दिए।
उहाँले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको जानकारी दिँदै, राज्यले अनुदान वास्तविक किसानसम्म पुर्याउने सुनिश्चितता गर्नुपर्ने बताए। साथै, किसानलाई समयमा बीउ, मल र उत्पादनको उचित मूल्य उपलब्ध गराउनुपर्नेमा उहाँको जोड थियो।
कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मलको अभाव, चैते धानको मूल्य नपाएकोजस्ता समस्याहरूको समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाएका थिए।




