देश

‘जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक’

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन एकीकृत प्रयासको आवश्यकता औँल्याएका छन्।

नेपाल प्रेस युनियनले स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेस भूमिका’ कार्यक्रममा उनले जलवायु चेतना सम्बन्धमा सरकारसँगै सरोकारवाला सबैको भूमिका एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका रहे पनि जलवायुको असरबाट बढी प्रभावित हुनु परेको समेत बताए।

पूर्वसञ्चारमन्त्री समेत रहनुभएका डा. रिजालले भने, “नेपालले पछिल्लो समय बेमौसमी वर्षाका कारण जलवायु विपद्का ठूलो क्षति व्यहोर्नु परेको छ। यसमा क्षतिपूर्ति र दाबीका लागि अन्तरराष्ट्रिय पहल र पैरबी आवश्यक छ।”

फरक प्रसङ्गमा उनले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै देखिएका चुनौती सामना गर्न सबै पक्षसँगै मिडियाको पनि महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य उदयशम्शेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे। साथै उनले सामाजिक सञ्जालमा देखिएका विकृति समाधानका लागि मिडियाको भूमिकाबारे प्रकाश पारे।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तन विश्वको जल्दोबल्दो विषय भएको उल्लेख गर्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्। उनले मिडियामा देखिएका विकृति समाधानका लागि प्रेस युनियन जस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिन्।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले पछिल्लो समय केही व्यक्तिका विकृति देखाएर सिङ्गो राजनीतिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको बताए। उनले यस्तो अवस्थामा भ्रम चिरेर यथार्थ देखाउनका लागि प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पूर्वअध्यक्षहरू रमेश तूफान, कुलचन्द्र वाग्ले, समीर जङ्ग शाह, बद्री सिग्देल, युनियनका उपाध्यक्ष नकुल अर्याल, पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचन्द र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रेमिका रानाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि युनियनले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *