काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी कैलाश चौधरीलाई दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश संसदीय दललाई निर्देशन दिँदै चौधरीको नाम टुंगो लगाएकी हुन्।
यसअघि मन्त्री चयनमा प्रदेश संसदीय दलले निर्णय गर्न नसकेपछि पार्टी केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेको हो। अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्त चलाउनेका अनुसार संरक्षक रेशम चौधरीको सहभागितामा केही समयअघि धनगढीमा बसेको बैठकमा चौधरीको नाममा सहमति भइसकेको थियो।
नयाँ मन्त्रीको आवश्यकता उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले विवादित अडियो सार्वजनिक भएपछि १६ चैतमा राजीनामा दिएपछि आएको हो। त्यसयता मन्त्रालय रिक्त थियो। नाउपाको निर्णयअनुसार कैलाश चौधरीको मन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ।




