काठमाडौं । नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन कुटपिट र झडपका कारण स्थगित गरिएको छ। अधिवेशन स्थलमै दुई समूहबीच कुर्सी हानाहान र कुटपिट भएपछि बुधबारसम्म कार्यक्रम रोकिएको हो।
झडपमा परी पाँच जना नेता तथा कार्यकर्ता घाइते भएका छन्। घाइतेमा अध्यक्ष पदका उम्मेदवार भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास छन्, जसको टाउकोमा चोट लागेको छ। हालका जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि पनि हातपात भएको जनाइएको छ।
अध्यक्ष पदमा भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भइरहेको छ। भोला, एमाले केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छन् भने लक्ष्मीनारायणलाई केन्द्रीय सदस्य उमाशंकर अरगरियाले समर्थन गरेका छन्। उनी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका सल्लाहकारसमेत हुन्।
दुवै समूहबीचको तिक्त सम्बन्ध र उम्मेदवारको अन्तिम नामावलीमा देखिएको विवादले झडप चर्किएको हो। लक्ष्मीनारायण समूहले महासेठमाथि अधिवेशनमा एकलौटी गर्न खोजेको, उम्मेदवार चयनमा विधान मिचिएको र निर्वाचन समिति समेत पक्षपाती भएको आरोप लगाएका छन्।
मंगलबार बिहानैदेखि विवाद बढेपछि लक्ष्मीनारायण पक्षले धर्ना समेत दिएका थिए। सर्वसम्मत प्रयास असफल भएपछि मनोनयन दर्ता गरी निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। तर, विवाद चर्किएपछि मतदान सुरु नै हुन सकेन।
एमाले नेतृत्वले विवाद समाधान गरी अधिवेशन फेरि सुचारु गर्ने प्रयास गरिरहेको जनाएको छ।




