राजनीति

नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताएका हुन् ।

उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरे । उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरूको साथ रहेको दाबी गरे । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको बताए । पार्टीका कार्यक्रमहरूमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताए । अब नेकपा (एकीकृत समाजवादी) लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताए । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिऊ ।

 

अध्यक्ष नेपालले भने ‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छुस् हाम्रा साथीहरू लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध छन् । एनजिओ, आइएनजिओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरूलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालिकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवेशनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँस् तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईँ हामीमाथि भर पर्छ । त्यसैले यो पार्टीलाई बलियो बनाउने काममा जुट्नुस्, यो पार्टीलाई गतिशील बनाउने काममा लाग्नुस् । जसले जे जिम्मा पाउनुभएको त्यसको जिम्मेवारी निभाउनुस् ।’

अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरू फेरि पनि मिल्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गरे । आफ्नो पार्टी चुप लागेर बस्ने नभई गतिशीलता, क्रियाशीलतामा विश्वास गर्ने पार्टी भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *