देश

सरकारको अस्थिरताले गैरआवासीय नागरिकता कानुनमा ढिलाइ: मन्त्री राणा

काठमाडौँ । राष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको बताएकी छन् ।नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

संविधान जारी भएपछिको वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ । उनले सरकारको स्थायित्वको अभावले नीतिगत काममा समे समेत समस्या परेको कारण दुई मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार चलाउनुपरेको दाबी गरिन् ।

उनले मुलुकको आर्थिक, सामाजिक रूपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गरिन् । उनले गैरआवासीय नागरिकताको अधिकारका विषय कानुनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेस गरिने बताइन् ।

उनले भनिन् ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरकार आयो कि भनेर अलिकति गति पक्रेको चाहिँ छ । संविधान निर्माणपछि बिचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पुर्याउन नसकेको हो । सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिस्पर्धी दलहरू नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो ।

किनभने हामीले आर्थिक, सामाजिक रूपान्तरण जुन हामीले खोजेका थियौँ । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौँला अहिले मिलेरै चलाऊँ भनेर चलाएका छौं । यो गैरआवासीय नागरिकतासम्बन्धीमा गैरआवासीय नागरिकहरूको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’

उनले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायित्व अपरिहार्य रहेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *