काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउलाई अलोकतान्त्रिक र योजनावद्ध दमनको संज्ञा दिएका छन्। चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका राउतले सरकारको व्यवहारलाई अधिकारमाथिको प्रहार भनेका छन्।
बुधबार जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा कार्यक्रम तय गरिएको थियो। तर कार्यक्रम सुरु हुनु अघिनै चौधरी पक्राउ परेपछि राउत आक्रोशित देखिए। उनले भने, कार्यक्रमकै मुखमा आएर समात्नु भनेको लोकतान्त्रिक प्रक्रिया होइन। यो सिधा दबाब र त्रास सिर्जना गर्ने काम हो।
राउतले सरकारमाथि आदिवासी, जनजाति, दलित, मधेसी र मुस्लिम समुदायमाथि निरन्तर अन्याय र दमन गर्दै आएको आरोप लगाए। अहिलेको घटना पनि त्यही श्रृंखलाको एक कडी हो, उनले थपे।
उनको स्पष्ट सन्देश थियो – हामीलाई कमजोर बनाउने षड्यन्त्र अब सफल हुँदैन। यस्तो व्यवहारलाई परास्त गर्न पार्टी एकता गरेरै छाड्छौँ।
चौधरीलाई सर्वोच्च अदालतको विवादास्पद पत्रका आधारमा कार्यक्रम स्थलबाटै पक्राउ गरिएको थियो। अहिले उनले डिल्लीबजार कारागारमा थुनामा राखिएको छ। सोही पत्रबारे अहिले सर्वोच्च अदालतमै छानबिन जारी छ।
डा. राउतले चौधरीको गिरफ्तारीमाथि प्रश्न उठाउँदै भने, “जनताले हेरेका छन् – एकीकरणको दिन, कार्यक्रम स्थलमै किन पक्राउ गरियो? यो प्रश्न लामो समयसम्म रहिरहनेछ।”




