देश

भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन् ।

 

भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताए ।

 

उनले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले बिरोध गरिरहेको आरोप लगाए । उनले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताए ।

उनले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए ।

उनले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताए ।

उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए । इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस गरेको उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले छिमेकीहरुसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए ।

प्रतिगामी शक्तिहरुले वितण्डा मच्चाए भन्दैमा फेरि निराश हुनुपर्ने अवस्था नरहेको जिकिर गरे । आत्मबल बढाएर संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै अघि बढ्नु नै श्रेयस्कर हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *