काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार आतङ्कवादी समूहले पर्यटकमाथि गरेको आक्रमणको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएकोमा गहिरो दुःख प्रकट गरेका छन्।
अध्यक्ष लिङ्देनले पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले घोर भर्त्सना गरेको बताए। उनले जुनसुकै स्थान र जुनसुकै कारणले हुने मानवता विरुद्धको आतङ्कवादी कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै राप्रपा सधैँ यस्ता गतिविधिहरूको विपक्षमा रहेको स्पष्ट पारे।
“यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ। आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ। साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




