राजनीति

मुकुल ढकालको तर्क : माघ १९ बिना नेपाल अझै अशान्त हुने थियो

काठमाडौं । लोकतन्त्र दिवसको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जालमा नेपालका विगत र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले २०६१ सालमा देशको अवस्था अराजक र हिंसात्मक भएको स्मरण गराउँदै, तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदमलाई ‘स्थिति बदल्ने मोड’का रूपमा व्याख्या गरेका छन्।

ढकालका अनुसार त्यो समय माओवादी हिंसा चरममा थियो, जनजीवन अस्तव्यस्त बनिसकेको थियो, र लोकतान्त्रिक प्रक्रियाहरू पूर्ण रूपमा ठप्प थिए। “राजाले त्यो कदम चाल्नुभएन भने देश अझै अशान्त र अस्थिर हुन्थ्यो,” उनी भन्छन्।

उनको भनाइमा, राजाको कदमले राजनीतिक दलहरूलाई झट्का दियो, जसले उनीहरूलाई माओवादीसँग सहकार्य गर्न बाध्य बनायो। त्यसपछि भएको जनआन्दोलनले शान्ति स्थापना गर्यो, तर त्यससँगै धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता बाइप्रडक्टहरू पनि आयो, जुन अहिले बहसको केन्द्रमा छन्।

“यी बाइप्रडक्टहरू जनताले जबरजस्ती स्वीकार्नुपरेका थिए,” ढकाल लेख्छन्, “अब समय आएको छ — कुन परिवर्तन राष्ट्रको हितमा छ र कुन विनाशतर्फ लाने हो भन्ने छुट्याउने।”

उनको यो टिप्पणीले राजनीतिक वृत्तमा नयाँ बहसको संकेत दिएको छ, विशेषगरी गणतन्त्रको भविष्य, धर्मनिरपेक्षताको मूल्य र संघीयताको व्यवहारिकता जस्ता मुद्दामा। लोकतन्त्र दिवसको अवसरमा आएको यो अभिव्यक्ति पुरानो इतिहास सम्झनु मात्र नभई, अबका लागि पुनर्विचारको खाँचो पनि हो भन्ने सन्देश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *