काठमाडौँ।बागमती प्रदेशसभामा आज सर्वदलीय बैठक सुरु भएको छ। सभामुख भुवनकुमार पाठकले बिहान ८ बजेका लागि आह्वान गरेको बैठक केही ढिलोगरी ९ बजेपछि सुरु भएको हो।
बैठकमा प्रदेशसभा सञ्चालनका विषयमा छलफल हुनुका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि विमर्श हुनेछ। सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाई प्रदेशसभाको बैठकलाई सहज बनाउन यो बैठक बोलाइएको हो।
बैठकमा प्रदेशसभाका सातै दललाई आमन्त्रण गरिए पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता उपस्थित भएका छैनन्। प्रतिपक्षले सभा अवरुद्ध गर्ने सम्भावनाबारे सोध्दा सभामुख पाठकले अहिलेसम्म त्यस्तो कुनै सङ्केत नदेखिएको बताए। “बैठक नै सहमति जुटाउने प्रयोजनका लागि हो,” उहाँले भने।




