काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बन्दा घरभित्रै जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायको आश्वासन दिएका छन्।
आज बालुवाटारमा प्रधानमन्त्री ओलीले सुरेश रजकका परिवारजनसँग भेट गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरे। घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाए। पीडित परिवारलाई आवश्यक सहयोगको प्रतिबद्धता प्रकट गरे।
प्रधानमन्त्री ओलीले सुरेशकी धर्मपत्नी सुजन रजकलाई रोजगारीको व्यवस्था गरिने बताए। उनले रजकको परिवारले न्याय पाउने विश्वास व्यक्त गरे। सुरेशको दाहसंस्कार गर्न प्रधानमन्त्रीले आग्रह गरे।
प्रेस चौतारीको समन्वयमा भेटघाटमा प्रधानमन्त्रीसँगको भेटमा सुरेशका दाजुहरू रमेश रजक र दिनेश रजक पनि उपस्थित थिए। प्रेस चौतारी नेपालले भेटघाटको समन्वय गरेको थियो। सरकारले घटनाको छानबिनलाई तीव्र बनाउने र पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।




