
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ।
पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। उनले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरु गरिएको बताए। उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ।
विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आक्रोशित बनेको आन्दोलनकारीको भीडले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेको हो।
आलोकनगरस्थित कार्यालयमा आन्दोलनकारीले तोडफोडका क्रममा गरेको आगजनी सुरक्षाकर्मीलगायतको सहयोगमा निभाइएको छ।