काठमाडौं । शान्ति प्रक्रिया सुरु भएको १८ वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडित महिलाहरूले आफ्नो आवाज फेरि बुलन्द बनाएका छन्। नेपालमा संक्रमणकालीन न्याय र द्वन्द्वपीडितका अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा उनीहरूले अब भने न्याय पाउनेमा आशावादी रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै द्वन्द्वपीडित महिला सुमित्रा चौधरीले आफ्ना पीडा वर्षौंदेखि नसुनिएको गुनासो गरिन्। उनले भनिन्, अब हामीलाई फेरि निराश पार्नुहुने छैन भन्ने आशा गरेका छौं। हिंसाका कारण महिलाहरूले मानसिक र शारीरिक पीडा सहनु परेको छ।
चौधरीले न्यायका लागि उजुरी दिन कठिनाइ भइरहेको बताउँदै उजुरी प्रक्रिया सहज बनाउन माग गरिन्। साथै, द्वन्द्वपीडित महिलाका छोराछोरी शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुन नदिन सरकारलाई विशेष नीति ल्याउन आग्रह गरिन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियाे । पीडित महिलाहरूले सरकारलाई अब पनि आफ्नो आवाज नसुनिए अन्य विकल्प अपनाउने चेतावनीसमेत दिएका छन्।




