राजनीति

पीएन क्याम्पसको स्ववियु चुनावमा उत्साहको कमी, २७०० मत गणना

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पस मा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अपेक्षित उत्साह देखिएन। ९ हजारभन्दा बढी विद्यार्थी मतदाता रहे पनि तिहाइभन्दा कम मत खसेपछि चुनावप्रति विद्यार्थीहरूको चासो कमजोर देखिएको छ।

क्याम्पस प्रशासनका अनुसार, अपराह्न ४ बजेसम्म जम्मा २७०० मत मात्रै खसेको छ। निर्वाचन समितिले तोकेको समय सकिएपछि मुख्य गेट बन्द गरिएको छ, अब क्याम्पस परिसरभित्र प्रवेश गरिसकेकाहरूलाई मात्र मतदानको अनुमति दिइएको छ।

यसअघि चैत ५ गतेका लागि तय गरिएको निर्वाचन विद्यार्थी संगठनहरूबीचको विवादका कारण स्थगित भएको थियो। विवाद समाधानपछि आज बिहान ८ बजेदेखि मतदान सुरु गरिएको हो। निर्वाचनमा विवादको कारण अखिल (छैठौं) का अध्यक्षको नाम समानुपातिक प्रणालीमा समावेश भए पनि कोष्ठ नराखिएको विषय बनेको थियो। यसबारे आपत्ति जनाउँदै अखिल (छैठौं) ले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएको थियो।

कसले जित्ला? आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

स्ववियुको २२औं अध्यक्ष पदका लागि विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवार गरी ८ जना मैदानमा छन्।

नविन अधिकारी – अखिल (क्रान्तिकारी)
दिप्सन गुरुङ – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल
सुशील न्यौपाने – नेपाल विद्यार्थी संघ
सन्तोष पौडेल – संयुक्त प्यानल (अखिल क्रान्तिकारी–मोहन वैद्य, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी)
विष्णु पोखरेल – अनेरास्ववियु
मिलन सुनार – अखिल (छैठौं)
कमल सुवेदी – स्वतन्त्र
विप्लवी न्यौपाने – स्वतन्त्र

विद्यार्थीहरूबीच चुनावप्रति चासो कम देखिनुको पछाडि लगातारको विवाद, निर्वाचन मिति स्थगन र विद्यार्थी संगठनहरूप्रति बढ्दो असन्तुष्टि मुख्य कारण देखिएको छ ।स्थगित भएपछि पुनः सुचारु गरिएको यो चुनावले विद्यार्थीहरूको राजनीतिक सहभागिता र क्याम्पसको शैक्षिक वातावरणमा कस्तो असर पार्नेछ भन्ने चासो रहेको छ। मतगणना कहिले सुरु हुने र अन्तिम नतिजा कहिले आउँछ भन्ने विषयमा निर्वाचन समितिले आधिकारिक जानकारी भने दिएको छैन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *