काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले संविधान विपरीतका घटनामा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यमा शाही निशाना प्रयोग गरी श्री ५ महाराजाधिराज भनी उल्लेख गरिएकामा आपत्ति जनाउँदै कारबाहीको माग गरे। सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेमा लागेको आगलागी नियन्त्रण गर्न र एसईई परीक्षाका बेला धुलो नियन्त्रण गर्न माग गरे।
सांसद रमा कोइराला पौडेलले शिक्षक महासङ्घका माग पूरा गर्न र नयाँ शिक्षा विधेयक छिटो ल्याउन माग गरिन्। सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औचित्यपूर्ण बनाउनुपर्नेमा जोड दिए। सांसद ठाकुर गैह्रेले विद्युत् आपूर्तिबारे ऊर्जामन्त्रीले भ्रम फैलाएको आरोप लगाए।




