राजनीति

सरकारले हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याएको कारण जस्ताकोतस्तै पारित हुने अवस्था छैनः कांग्रेस नेता विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताकोतस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरु फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए ।

‘प्रतिनिधि सभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपर्थ्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहीँ सरकार फराकिलो छलफलमा छ अहिले,’– नेता विश्वकर्माले भने ।

नेता विश्वकर्माका अनुसार विगत दुई तीन दिनमा सत्ता समीकरणमा रहेका प्रमुख दलहरुले सरकारको सहायक भूमिकामा रहेका, समर्थनमा रहेका र विरोधमा रहेका दलहरुसँग पनि अध्यादेशको बारेमा छलफल गरिरहेका छन् । प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरु संशोधन गर्नेगरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यससन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको उनले बताए ।

अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनले बताए । भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट नै केही आशंका व्यक्त भएको उनले सुनाए । राष्ट्रपति पौडेलले दलहरुको बीचमा मिहिन छलफल पछिमात्रै उक्त अध्यादेश आउनुपर्ने कुरा राखेको पनि उनले बताए ।

‘अध्यादेश ल्याउन पाउने भन्ने संवैधानिक प्रावधान छ । अध्यादेश संविधानबमोजिम छ, कानुनबमोजिम छ । यसबारेमा कसैको विमति छैन । भूमिसम्बन्धी अध्यादेशको विषयका बारेमा स्वयं राष्ट्रपतिज्यूले पनि अलि फराकिलो छलफल गर्नुपर्थ्यो भन्नुभयो,’– नेता विश्वकर्माले बताए ।

नेता विश्वकर्माले वर्तमान सरकारले सात महिनाको अवधिमा केही गर्न सकेन भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । अहिले गृहमन्त्रालयले हल्ला नगरी सुशासनको क्षेत्रमा काम गरिरहेको उनको दाबी छ । स्वास्थ्य मन्त्रालयले पनि निकै नै महत्वपूर्ण दर्जनौं राम्रो काम गरेको पूर्वमन्त्री विश्वकर्माले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *