राजनीति

जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गरेकी छन् ।मंगलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताइन् । उनले जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गरिन् ।

उनले भनिन् ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यानको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरू सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरू असुरक्षित महसुस गरिरहेका छन् । जंगलभित्रै ती जनावरहरू बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरूका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्ब समाधानको उपाय गरियोस् ।’

उनले जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *