काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा भएको नेपाल स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सत्रको तेस्रो सत्र “मेरो उद्यमशील यात्रा” शीर्षकको सामूहिक छलफल कार्यक्रममा बोल्दै वक्ताहरुले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।
दायित्वका संस्थाका संस्थापक अध्यक्ष पुकार मल्ल आफू पढाइको सिलसिलामा मुलुकबाहिर गएको र त्यहाँ विश्व बैंकदेखि विभिन्न क्षेत्रमा काम गर्दा देशकै लागि केही गर्नुपर्छ र आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भनेर स्वदेश फर्किएको अनुभव सुनाएका छन् ।
उनले भने, “पहिला बाहिर हुँदा सुखी भएको खुशी नभएको र अहिले पहिलाकभन्दा धेरै खुशी भएको तर सुखी नभएको महसुस हुन्छ । नेपालमा युवा पुस्ताले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गरेर अगाडी बढनु नै आजको आवश्यकता देखिन्छ ।”
अहिले देशमा उद्यमशीलताका लागि निरन्तर काम गरिरहेको जानकारी गराउँदै भने, “शासकीय प्रणालीमा तल्लो तहको काम र अवसरमा समान पहुँच पु¥याउनका लागि निरन्तर सकृय छु । श्रमको सम्मानसहित देशमै बसेर केही गर्न चाहने युवालाइ राज्यले सहजिकरण गर्नैपर्छ ।”
उनले सिमान्तकृत समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउनु नै अहिलेको उद्यमशीलताको मुख्य उद्देश्य रहेकोसमेत बताएका छन् ।गाउँपालिका राष्ट्रिय संघका अध्यक्ष लक्ष्मी पान्डेले स्टार्टअप अहिलेको महत्वपूर्ण विषय भएका उल्लेख गर्दै कांग्रेसले यसलाई अभियानकै रुपमा अगाडि बढएकोमा प्रशंसा गरेकी छन् । यस किसिमका अभियानले उद्यम गर्न चाहने युवा पुस्तालाई सेतुको रुपमा काम गर्ने र उद्यमका लागि सहजीकरणको वातावरण निर्माण हुने बताएकी छन् ।
उनले थपिन, “अहिले स्थानीय सरकारले अनुसूची ८ अनुरुप महिला उद्यमका लागि सहजीकरण गर्न ऐन संशोधनका लागि प्रयत्नरत छौँ । अहिले स्थानीय सरकारले जनतासँग सहजै जोडिनका लागि प्रयत्नशील छौं । स्थानिय सरकारले दिएको अधिकारलाई भरपुर रुपमा प्रयोग गर्नको पनि आह्वान गर्दछु ।”
ई–गर्भनेन्स बोर्डका सीईओ दिपेश विष्टले अन्य देशमा कम्पनी दर्ता गर्न प्रतिस्पर्धा हुने तर नेपालमा त्यसका लागि अति नै झन्झटिलो प्रकृया भएको कारण कानुनी सहजताका लागि राज्यले पहल गर्ने बताएका छन् । कानुनी सहजताले मात्रै नपुग्नै बताउँदै उनले भने, “कानुनी सहजता मात्रै भएर पुग्दैन । हामीले आईटी जानेको दक्ष जनशक्ति पनि तयार गर्नुपर्ने छ ।”
उनले आईटी फिल्डमा कति कमाउन सकिन्छ भनेर तथ्यांक प्रस्तुत गर्दै भने, “काठमाडौंमा आईटी अफिसरको औसत तलब मासिक ४० हजार रुपैयाँको हाराहारीमा छ र आईटी परियोजना प्रबन्धकको तलब प्रति महिना ५० हजारदेखि एक लाखसम्म रहेको छ । अर्कोतिर सफ्टवेयर विकासकर्तामा मध्य–स्तर सफ्टवेयर विकासकर्ताहरूले प्रति महिना ५० हजारदेखि ८० हजारको बीचमा कमाउने गरेको पाइन्छ । सफ्टवेयर इन्जिनियर, वरिष्ठ सफ्टवेयर इन्जिनियरहरूले प्रति महिना एक लाख २० हजारदेखि एक लाख ८० हजार वा सोभन्दा बढी पनि कमाउने गरेको पाइन्छ ।”
उनले अहिले डाटा महत्वपूर्ण भएकाले संरक्षणका लागि सरकारले नीति पनि बनाउँदै गरेको जानकारी दिए । नयाँ युवालाई व्यवसायमा संलग्न गराउने सवालमा उनले आइटी नै पढनुपर्छ भन्ने नभएको बताए । लगानी गरेर आईटी फिल्डका युवालाइ रोजगारी दिन सकिनेसमेत उनले बताए । उनले नेपालमा आगामी पाँच वर्षमा आईटी क्षेत्र र उद्यममा ठूलो आर्थिक रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् ।”
त्यस्तै रानीमहल रिसोर्टका सञ्चालक टंकनाथ घिमिरेले वैदेशिक यात्रा त्यागेर नेपालमै बसेर व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर आफू स्वदेश फर्किएको अनुभव जानकारी गराएका छन् । उनले भने, “विदेशबाट नेपाल फर्किँदा गाउँमा कोहिपनी युवा नरहेको र अब आफू पनि देशमै बसेर युवावर्गलाई देशमै बस्नपर्छ भन्ने प्रेरणा दिनको लागि प्रयत्न गरिरहेको छ ।”
उनले व्यवसायमा चुनौती रहेका उल्लेख गर्दै आफ्नो अनुभव बाँडे, “मैले १० हजारबाट सुरु भएको उद्यम–व्यवसायको यात्रालाई अहिले चार करोडभन्दा बढीको बनाउन सफल भएको छु । कामको लागि गरिने मेहनत, कमिटमेन्ट भएमा सम्भावना रहेछ भन्ने उदाहरण म नै हो । योजना सहित काम गर्दा नै म सफल भएँ ।”
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले आफू हिमाली जिल्लामा जन्मेर विविध चुनौतीको सामना गरेर व्यवसाय गरेर अगाडी बढेको बताएकी छन् । उनले भनिन्, “मुस्ताङ जिल्लाजस्तो पर्यटन क्षेत्र भएको ठाउँमा स्याउको सुकुटी, ड्राइ एप्पल, होटल सञ्चालन गरेर सफलताको यात्रामा अगाडि बढेको हो । २०७० सालमा उद्योग दर्ता गरेर भौतिक संरचना बनाउँदा पैसा नभएको र आँट गरेर अगाडि बढ्यो भने सम्भावनालाई सजिलै क्यास गर्न सकिने उनले जानकारी दिएका छन् ।
तीन तहको सरकारको कारण एउटै निकायलाइ सहजै रुपमा अधिकार नदिएको कारण उद्योगी व्यावसायी प्रताडीत भएकोसमेत उनले बताएकी छन् ।




