काठमाडौं। प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनको नेतृत्वको जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा आएको निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशनिका-४ जारी गर्दै एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नसक्ने निष्कर्ष प्रस्तुत गरेका छन्। माओवादी र एमालेको बारेमा टिप्पणी गर्दै नेपालले नेपाली कांग्रेस र अन्य दलहरूको बारेमा भने कुनै उल्लेख गरेका छैनन्।
‘एमाले सैद्धान्तिक जडता र विसंगतिबाट पीडित छ र संगठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गएको छ। यस अवस्थामा यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा बदनाम हुँदै गएको छ,’ अपानिमा भनिएको छ। ‘माओवादी केन्द्रमा सैद्धान्तिक गतिरोध जस्ताको तस्तै छ। आजको अवस्थामा यसलाई जस्तै राख्नु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुन सक्छ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन “दुष्चक्र”मा फसेको उल्लेख गरेका छन्। ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण दिनानुदिन पुष्टि हुँदै गएको छ। त्यसका अयोग्यताले आम असन्तुष्टि बढाउने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुष्चक्रमा यो गठबन्धन फस्दै गएको छ। यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ,’ माधवले जारी गरेको अपानिमा भनिएको छ।




