
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन् । उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा आफ्नो प्रतिवेदनबारे प्रचण्डले सामान्य ब्रिफिङ गरेका छन ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बिषयहरु समेटिएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्नेछन् । सो प्रतिवेदनमा आगामी कार्ययोजना र संगठनात्मक विषय समेटिएका छन् । देशलाई गम्भीर संकटबाट बचाउन दुईवटा अभियान चलाउनुपर्ने बैठकमा बताइएको छ ।
प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।
एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । . माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । यस्तै माओवादीले केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ ।
आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ । केन्द्रीय कमिटीको बैठकमा ८२५ जना सहभागी हुँदैछन् । माओवादी केन्द्रभित्र विशेष महाधिवेशनमा गएर विधानअनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउनुपर्ने दबाब परेको छ ।