देश

पार्टीले अघि सारेका एजेण्डा अनुमोदन भयो: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले उपनिर्वाचनपछि पार्टीका एजेण्डा जनताबाट अनुमोदन भएको प्रतिक्रिया दिएको छ । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा ११ पद जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’

उनले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षको नयाँ सङ्कल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ ।’

उनले उपनिर्वाचन निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट उत्साहजनक रहेको बताएका छन् । ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,’ अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एक उपमेयर र दुई उपाध्यक्षसहित ७ वटा वडा जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *