काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कागले कान लग्यो भनेर कागको पछाडी कुद्ने पार्टी एमाले नभएको बताएका छन् ।
उपत्यकाका तीन वटा जिल्ला कमिटिको समन्वयमा शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्दै उनले एमाले विरुद्ध धेरै मान्छेलेहरुले धेरै प्रकारका हल्ला चलाइरहेका बताएका हुन् ।
‘नेकपा एमाले कागले कान लग्यो भनेर कागको पछि पछि लागेर आकाशतिर हेर्दै कागको पछाडी कुद्ने पार्टी होइन्, प्रधानमन्त्री ओली भन्छन्, ‘पहिला आफ्नो कान छकि छैन् भनेर हेर्छ, कागका पछि पछि कुद्दैन् ।’
‘कसैलाई लाग्दा आफुले भ्रम फिजाएपछि, आफुले एक प्रकारको झुटको खेति गरेपछि र अश्लिल, असभ्य, अराजकता मच्चाएपछि समाज त्यस्तै हुन्छ भन्ने सोचेका छन् । तर, नेपाली जनता भ्रममा पर्दैनन्, ’ प्रधानमन्त्री ओलीले भने ।
उनले नेपाली जनता आफ्नो गौरवपूर्ण इतिहास र संस्कृति छोडेर दाँयाबायाँ नभएर अगाडी बढ्ने बताए ।




