देश

दुई आयोगका पदाधिकारीका लागि १५६ जनाले दिए आवेदन

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि ३१ जनाले दिएको निवेदनमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ जनाले आवेदन दिएको जनाएको छ ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालले अध्यक्ष पदमा ३१ जनाको आवेदन दिएको बताए । २०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।

सिफारिस समिति गठन भएको मितिले दुई महिनाभित्र नाम सिफारिस गरिसक्नुपर्छ । ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गत कात्तिक दुई गते गठन भएकाले आगामी पुस २ गतेभित्र नाम सिफारिस गरिसक्नुपर्ने छ ।

नाम छनोट तथा सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य रहेका छ्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *