विश्व

फ्रान्सका राष्ट्रपति म्याक्रोँ नयाँ प्रधानमन्त्री नियुक्त गर्ने दबाबमा, सोमबार ले–पेनसँग छलफल

पेरिस। फ्रान्समा गत जुलाईमा भएको संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको नाम घोषणा गर्न दबाब बढिरहेका बेला राष्ट्रपति इमानुएल म्याक्रोँले सोमबार दुर्लभ वार्ताका लागि अति दक्षिणपन्थी समूहका मरीन ले पेनसँग छलफल गरेका छन् ।

नेसनल र्‍याली (आरएन) पार्टीका प्रमुख जोर्डन बर्डेलाको साथमा ले पेन पेरिसको स्थानीय समय अनुसार सोमबार बिहान ०८ः४५ मा राष्ट्रपतिको कार्यालयमा पछाडिको गेट हुँदै प्रवेश गरेका थिए ।

मध्यमार्गी म्याक्रोंले गत महिना आह्वान गरेको मध्यावधि निर्वाचनले फ्रान्सलाई सन् २०२२ देखि अल्पमतको सरकार चलाइरहेको त्रिशङ्कु संसद्को गतिरोधबाट मुक्त गर्न असफल भएको थियो ।

मुख्यतया तीन समूहमा विभाजित नेशनल एसेम्ब्ली (तल्लो सदन) मा १९० भन्दा बढी सीटहरूको साथ वामपन्थी दलहरूको न्यू पपुलर फ्रन्ट (एनएफपी) गठबन्धन पहिलो शक्ति, त्यसपछि दोस्रोमा राष्ट्रपतिका समर्थक दलहरूको गठबन्धनको १६० र अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली १४० सीटसहित तेस्रो स्थानमा रहेका छन् ।

कूल ५७७ सिट क्षमताको संसद्मा बहुमतका लागि २८९ जनाको आवश्यकता पर्छ ।

जुलाई ७ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भएदेखि नै बामपन्थीहरुले म्याक्रोँलाई सबैभन्दा ठूलो शक्तिका रूपमा आफ्नो एक जनालाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

उनीहरूले ३७ वर्षीय अर्थशास्त्री तथा सरकारी कर्मचारी लुसी कास्टेट्सलाई सरकार प्रमुखको सम्भावित उम्मेदवारका रुपमा अघि सारेका छन् ।

म्याक्रोँले कामचलाउ सरकारलाई लामो समय सरकार चलाउने अवसर दिँदै नयाँ प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् । उनले विश्वासको मतमा तत्काल अपदस्थ नहुने व्यापक समर्थन भएको व्यक्तिलाई सरकारमा ल्याउन खोजिरहेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *