इजरायली सेनाले गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ। दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग भएको बताउँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही गर्ने जनाएको छ।
इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन्। यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको बताएको थियो। राष्ट्रसंघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ।
गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरेका थिए। बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ। इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन्।
गाजा आक्रमणले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिए भने २५० जना बन्धक बनाइएका थिए।
इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ। आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले जनाएका छन्।
घेराबन्दीले गाजामा खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ। यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ। नेतान्याहूले हमासको सैन्य र शासकीय क्षमताहरू समाप्त गरी बाँकी बन्धकको सुरक्षित फिर्ता गर्ने वाचा गरेका छन्।




