हेरात (अफगानिस्तान)। पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एक वर्ष भन्दा कम समयमा ४।५ मिलियन अमेरिकी डलर लगानीका १५० वटा कृषि तथा पूर्वाधार परियोजनाको निर्माण कार्य सुरु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
परियोजनाहरूमा जलाशय बाँध, सडक, सुरक्षात्मक पर्खाल र पानी नहरहरू, साथै प्रान्तको एन्जेल, गुजारा र जेन्डाजन जिल्लाका छेउछाउका कुवाहरू समावेश रहेको हेरातको प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इल्यासले बताए ।
सार्वजनिक उपयोगिताका परियोजना कार्यान्वयन गरेर छ हजार गाउँलेका लागि रोजगारीको अवसर सिर्जना गरिएको इल्यासले भने । स्थानीय अधिकारीहरूले प्रान्तमा सन्तुलित विकास, रोजगारी सिर्जना र जनताको जीविकोपार्जन सुधारमा ध्यान दिएका छन् ।
अफगान कार्यवाहक सरकारले आर्थिक चुनौतिहरूको सामना गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले युद्धग्रस्त देशभरि थप कृषि र पूर्वाधार परियोजनाहरू सुरु गर्ने योजना बनाएको छ ।




