विश्व

गाजाको बैंक लुट्नुअघि हमासले बनाएको योजनाको दस्तावेज सार्वजनिक

काठमाडौं । हमास लडाकु समूहले गाजाको बैंकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्न बनाएको योजनाको दस्तावेज इजरायली रक्षा बलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

‘हमासले गाजामा रहेका बैंकको सेफ लुट्ने योजनाको दस्तावेज आन्तरिकरूपमा जारी गरेको एक महिनापछि हमासले गाजापट्टिमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौं शेकेल चोरी गरेको थियो’, आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भने । बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरी शाखा भएको सबैभन्दा ठूलो प्यालेस्टिनी बैंक हो ।

‘मार्च १० मिति लेखिएको सो दस्तावेज अबु जिहाद नामक हमास समुहका सदस्यद्वारा तयार पारिएको थियो । सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट ४० करोडभन्दा बढी शेकेल चोरेका थिए’, अद्राइले जानकारी गराए । हमास समूहले पटक–पटक बैंक अफ प्यालेस्टाइनका विभिन्न शाखामा चोरी गरेका छन् । ‘गाजाका बासिन्दाले आर्थिक र सामाजिक सङ्कटको सामना गरिरहेका बेला हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजा पट्टीका नागरिकबाट कुनै हिचकिचाहट बिना चोरी गरिरहेको छ’, अद्राइले भने ।

गाजाका प्यालेस्टिनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन् । हमासका नेता इस्माइल हानियाह, खालिद मशाल र मुसा अबु मर्जुकको संयुक्त ११ अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ । जबकि संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको हो ।

युद्धअघि, हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा २० प्रतिशत कर लगाउने गरेको थियो र गाजाको कालो बजारी व्यापारबाट वार्षिक ४० करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो । अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासको आक्रमणमा कम्तिमा एक हजार दुई सय मानिसले ज्यान गुमाउनुका साथै दुई सय ५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो । बाँकी रहेका एक सय २५ बन्धकमध्ये ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *