काठमाडौं । सिंहदरबारतर्फ अघि बढेको ‘न्याय मार्च’मा सहभागी मिटरब्याज पीडितलाई प्रहरीले रोकेको छ । २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज थानकोटदेखि सिंहदरबारतर्फ अघि बढेका थिए । उनीहरु राष्ट्रियसभागृह नजिकै सडकमा आइपुगेपछि प्रहरीले अगाडि बढ्नबाट रोकेको हो ।
प्रहरीले अगाडि जान नदिएपछि पीडितहरुले सडकमै धर्ना दिएका छन् । खाना नखाएका पीडित भोकभोकै सडकमा नाराबाजी गरिरहेका छन् । उनीहरुले सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रदर्शन रोकेर ज्यादती गरेको भन्दै गृहमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।
सरकारले न्याय नदिएसम्म धर्ना दिएर बस्ने पीडितहरुको योजना छ । संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च सुरु गरेका थिए ।




