विश्व जोखिम सूचकांक सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशको सूचीमा पहिलो स्थानमा राखेको छ।
प्यासिफिक रिङ अफ फायरमा अवस्थित द्वीपसमूह प्रायः शक्तिशाली टाइफुन, फ्ल्यास बाढीपहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको छ।
भर्खरै दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ।
यसैबीच उद्धारकर्मीले हराइरहेका ६३ जनाको खोजीमा माटो र भग्नावशेष निकाल्ने कामलाई तीव्रता दिएका छन्।
फेबुअरी ६ को साँझ डाभाओ डे ओरो प्रान्तको माकोको पहाडी शहरमा पहिरोमा परी थुप्रै मानिस, घर र सवारीसाधन पुरिएका थिए।
माको शहरको प्रकोप रोकथाम कार्यालयले कम्तिमा ३२ जना घाइते भएको बताएको छ।
पहिरोले माको नगरपालिकाका चार गाउँका एक हजार ३४७ घरपरिवारका पाँच हजार ४३१ जना प्रभावित भएको स्थानीय अधिकारीले बताएका छन्।




