काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद्को आजकै बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो।
केके भए निर्णय?
राष्ट्रिय योजना आयेगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने।
नेपाल वायुसेवा निगम ऐन, २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गर्ने।
नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गर्ने।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।




