काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्चीको पानी खसाल्ने ठाउँ अम्बाथान पुगेका छन् । मेलम्चीको पानी पुनः काठमाडौंमा वितरण गर्ने सरकारको तयारीपछि त्यसको अवलोकनका लागि उनी अम्बाथान पुगेका हुन् । नेता सिंहले त्यहाँ रहेको सुरुङ मार्ग तथा रिजर्भ ट्यांकीको अवलोकनसमेत गरेका थिए । उनलाई हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्ची खानेपानीबारे जानकारी गराएका थिए ।
नेता सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौंको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए।
नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने पनि बताए। ‘तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको परिकल्पना मेलम्ची आयोजनाले उपत्यकाको खानीपानी समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्नेछ,’ सिंहले भने, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ ।
योजनामात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्रीज्यू यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’




