काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने भए ३० दिनभित्र आवेदन दिन डेडिकेटेड फिडर र ट्रंकलाइन जोडेका उद्योगी तथा कलकारखाना सञ्चालकलाई आग्रह गरेको छ ।
प्राधिकरणले बक्यौता रकम किस्ताबन्दीमा बुझाउनेसम्बन्धी सूचना निकालेर मंगलबारदेखि ३० दिन (माघ २४) भित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन आह्वान गरेको छ । पुस १६ गते बसेको प्राधिकरण बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । प्राधिकरणले महसुल नबुझाउने उद्योगको विद्युत् लाइन धमाधम काटेको छ । बक्यौता रहेका केही उद्योगले महसुल रकम बुझाउन थालेपछि उनीहरुको लाइन जोडिएको छ । उसले बक्यौता रकम पाँच करोड हुनेवित्तिकै लाइन काट्न थालेको छ । प्राधिकरणले हालसम्म २१ वटा कम्पनीका लाइन काटेको छ ।
सोमबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बक्यौता पनि उठ्ने र डेडिकेटेड फिडर र ट्रंकलाइन जोडेका उद्योगपति तथा व्यवसायीको काम पनि नरोकिने गरी मध्यमार्गी विकल्प खोज्न आग्रह गरेका थिए । सोहीअनुसार प्राधिकरणले मंगलबार सूचना निकालेको हो ।





