काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।
आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि यादवलाई जिल्ला तानेर घटनाको छानबिन गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो ।
मृतक साहको शव तीन दिनदेखि घटनास्थलमै छ । परिवार तथा स्थानीयले माग पुरा नभएसम्म उनको शव नउठाउने अडान लिएका छन् ।




