देश

काठमाडौंसहित देशभर अत्यधिक चिसो, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं।देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ ।

पछिल्लो तीन/चार दिनयता काठमाडौंको न्यूनतम तापक्रम चार देखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको हाराहारी रहेको छ । तापक्रम घटेकाले काठमाडौंमा अत्यधिक चिसो बढेको छ । दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ र जोमसोममा माइनस तीन दशमलव पाँच तापक्रम मापन गरिएको महाशाखाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *