राजनीति

हामी सभापतिमाथि भएको आलोचना सुन्न सक्दैनौँ: महामन्त्री शर्मा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीको सभापतिमाथि भएको आलोचना युवाहरुले सुन्न नसक्ने भन्दै सभापतिले अब प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै नेता शर्माले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारका पालामा राम्रा काम पनि गरेको भन्दै ती कामको जश लिँदै अब भने प्रधानमन्त्री बन्दिन भन्न सक्नुपर्ने बताए ।

उनले देउवा फेरि प्रधानमन्त्री बन्ने भन्ने कुराले समाजमा नकारात्मक सन्देश गएको भन्दै देउवाले गरेका राम्रा काम पनि छायाँमा परेको भन्दै सभापतिमाथिको आलोचना सुन्न नसक्ने बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘देउवाले अब प्रधानमन्त्री बन्दिन भन्नुपर्छ । धेरै राम्रा राम्रा काम गर्नुभएको छ ती सबै केही कुराले छोपिएको छ । हामी सभापतिमाथि भएको आलोचना सुन्न सक्दैनौँ ।’

उनले कांग्रेस सरकारले अघि बढाएका योजनाहरुलाई निरन्तरता दिन सरकारलाई घच्घच्याउनु पर्नेमा जोड दिए । उनले एयरपोर्टले ऋणमाथि ऋण थप्दैछ भन्दै बेलैमा सोच्न पनि आग्रह गरे ।

उनले अबका आयोजना अघि बढाउदा ऋण नलाग्ने गरी अघि बढाउनु पर्नेमा जोड दिए । महामन्त्री शर्माले सम्मेलनले राजनीतिक रुपान्तरण गर्न आवश्यक रहेको भन्दै उमेर होइन अजेन्डा अघि बढाउन पनि सुझाव दिए ।

उनले अबको नीति १, २, ३, ४ अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *