विश्व

उत्तरपूर्वी अस्ट्रेलियामा बाढीको प्रकोप, सयौँ विस्थापित

उत्तरपूर्वी अस्ट्रेलियामा सोमबार अचानक आएको बाढीले बाटो काटेर गोहीहरूलाई सहरहरूमा बगाउँदा अलपत्र परेका बासिन्दाहरू अस्पतालको छतमा आश्रय लिएका छन्।

उद्धार टोलीले रातभरिमा तीन सयभन्दा बढी मानिसलाई बाहिर निकालेको र बाढीबाट कटान भएको इलाकामा सहयोगका लागि सैन्य हेलिकप्टर पठाइएको प्रहरीले बताएको छ।

उत्तरी क्विन्सल्यान्डमा करिब चार सय किलोमिटरसम्म फैलिएको समुद्री तटवर्ती क्षेत्रमा क्षतिको सूचना प्राप्त भएको थियो। सोमबारको बाढीले क्विन्सल्यान्डमा अर्बौं डलरको क्षति हुने कोषाध्यक्ष क्यामरन डिकले बताए।

वुजल वुजलको आदिवासी बस्तीस्थित अस्पतालको छतमा बिरामीसहित नौ जना सुरक्षाका लागि रातभर झुन्डिएर बसेका थिए।

मानिसहरू अहिले निराश मुद्रामा रहेको वुजल वुजल आदिवासी शायर काउन्सिलका प्रमुख कार्यकारी किले ह्यान्सलोले बताए।

प्रहरीका अनुसार सोमबार दिउँसो बाढीको पानी बढ्नुअघि मानिसहरू सुरक्षित स्थानमा चढेका छन्। उष्ण कटिबन्धीय वर्षावनको पहाडी भित्री क्षेत्रले घेरिएको दुर्गम वुजल अस्ट्रेलियाको सबैभन्दा बेफाइदाजनक क्षेत्रमध्येको एक हो।

सहरको केन्द्र फोहोर पानी र हिलोले भरिएको ह्यान्सलोले बताए। “उक्त पानीमा अहिले गोहीहरू पौडी खेलिरहेका छन्”, उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *