काठमाडौं । फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न भोलि (मंगलबार) रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझन् त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् । राष्ट्रपति पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।




