साउन १० गते बुधबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः
एमालेको अवरोधपछि संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन, फैसला भोलिमात्र
कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ ।
हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारलाई फैसला सारिएको हो ।सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले कुनै पनि माग राखेर आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकको आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
उनले भने, ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आवद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’ नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारवाही फुकुवा गरेको छ ।
केन्द्रीय समितिको बैठकले मंसिर ११, १२ र १३ केन्द्रीय महासमितिको बैठक बस्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । काठमाडौंमा बस्ने उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने उनले बताए । कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए ।यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए । । नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ ।
पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।
एक सय किलो सुन तस्करी प्रकरणबारे रास्वपाद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता
केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको एक सय क्विन्टल सुन तस्करी प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ।
रास्वपाका सांसदहरूले छलफलका लागि भन्दै संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्। ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठित अपराध नियमन गर्न सरकारले लिएको पहलकदमीलगायतका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।
नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द
काठमाडौं।नेतामाथि प्रहरी अधिकारीले कुटपिट गरेको भन्दै बुधबार बाराको कलैया बजार बन्द आह्वान गरिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले कलैया बजार बन्दको आह्वान गरेका हुन् ।
कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेका हुन् । उनीहरूले सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् । यातायातका साधन चलेका छैनन् भने बजार पसल बन्द छन् । कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रूपेश साहलाई निलम्बन गरेर जिम्मेवारीबाट हटाई हटाइएको छ ।
गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ ः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको एक सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जवाफ दिनुपर्ने बताएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको बेला राप्रपाले भने उक्त प्रकरणमाथि सही छानबिन आवश्यक रहेको बताएको हो ।राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने बताए ।
ओली कम्बोडियामा युनिफिकेसन चर्चको सम्मेलनमा गएको खुलासा
एक साता लामो कम्बोडिया भ्रमण पूरा गरी एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किसकेका छन् । कम्बोडियाको निर्वाचनमा पर्यवेक्षणका लागि ओलीलाई निमन्त्रणा आएको र त्यसकै लागि उनी एक प्रतिनिधिमण्डलसहित पुगेको समाचार आएको थियो ।
ओलीले निर्वाचन पर्यवेक्षण गरेको तस्बिर पनि मिडिया र सामाजिक सञ्जालमा प्रकाशित भइसकेका छन् । तर भित्री कुरा भने ओली दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आबद्ध संस्थाको दुई दिने सम्मेलनमा सहभागी भएको रहस्य खुलेको छ ।
कम्बोडियाको नोन्पेहमा युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन इन्स्टिच्युटले आयोजना गरेको ‘इन्टरनेसनल लिडरसिप कन्फ्रेन्सः पिस एन्ड डेमोक्रेसी’ मा ओली सहभागी भएका थिए । सम्मेलन जुलाई २१–२४ सम्म चलेको थियो ।
दक्षिण कोरियाको युनिफिकेसन चर्च आबद्ध युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युट त्यही संस्था हो, जसले नेपालमा होली वाइनको कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला नेपालमा प्रधानमन्त्री केपी ओली थिए । नेकपाकालीन सरकारमा आयोजना भएको होली वाइन विवादमा परेको थियो । सरकारकै खर्चमा सो कार्यक्रम राखिएको थियो ।
कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरुलाई अर्थमन्त्री महतको निर्देशन
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गरेका छन् ।
छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रकृयामा जाने गरी काम गर्न सचिवलाई निर्देशन दिए । उनले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए । उनले भने, ‘कार्तिकभित्र ठेक्का लगाउनैपर्छ ।’
ललिता निवास प्रकरणमा दुई जना बाहेक सबैको सकियो बयान
बालुवाटारस्थित ‘ललिता निवास प्रकरणमा थुनामा रहेकाहरुको बयान सकिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा दोषि ठहर गरि केन्द्रीय अनुसन्धान व्युरोले गत असार १२ गते सुरुमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गर्यो ।
त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी अनुसन्धान व्युरो (सिआइवी)ले क्रमश ः एक पछि अर्को गर्दै २२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुलाई थुनामा राखि अहिले अनुसन्धान गर्ने प्रक्रियामा बुधबार बयान सकिएको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्चले थुनामुक्त गर्न गत असार ५ गते आदेश दिएपछि छुटेका छन् ।
ब्युरोका अनुसन्धान अधिकृतहरुले पक्राउ गरिएका अधिकांशसँग बयान लिइसकेका छन् । हिरासतमा रहेका अधिकांशको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार सबैभन्दा पछि पक्राउ परेका दुईजना बाहेक अरु सबैको बयान सकिएकोे हो ।
एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर
चर्चित एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ ।सरकारी वकिलले ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।
एलओडीमा प्रवेश गरेकी १५ वर्षीया बालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो । तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो ।




