मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन ७ आइतबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली नेपाल भ्रमणमा आएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

श्रीलंकन एयरमार्फत उनीहरु नेपाल आएको टोलीलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए।

भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरु समेत रहेका छन् । नेपाल भ्रमण आएपश्चात राष्ट्रपति चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसंग पौडेल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्। सो भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए।

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेकाले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएका छन् । तीन दिने भ्रमणमा चिनियाँ टोली नेपाल आएका हुन् ।


चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केही समयअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ८१ पृष्ठको मौद्रिक नीति सावर्जनिक गरेका हुन् ।

मौद्रिक नीतिबारेमा निर्णय गर्न आइतबार बिहान राष्ट्र बैैकको सञ्चालक समितिको बैठक बसेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने अपेक्षा गरेको छ । मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतवार शेयर बजार बढेको छ ।आइतवार नेप्से परिसूचक २ दशमलव ९२ प्रतिशत बढेर २ हजार २२७ दशमलव १६ विन्दुमा पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मौद्रिक सार्वजनिक भएको मौद्रिक नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ ।
मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीतिमा उल्लेख छ ।

यस्तै राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकका अनुसार पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई वृद्धि गरी दुई करोड पुर्याईएको छ। यो सुविधा पहिलोपटक घर कर्जा लिंदा मात्र लागू हुनेछ। चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार विदेश जाने नेपाली नागारिकले अब २५०० अमेरिकी डलरसम्म सटही सुविधा लिन पाउने भएका छन् । हालसम्मभारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराउने उल्लेख छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका सात लक्ष्य लिएको छ ।


पम्फा भुसालको नेतृत्वमा माओवादीका नेता भारत प्रस्थान

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिए । “मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो”, उनले भने, “हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । ”उनका अनुसार ६ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्र्रिया र छलफल गर्ने कार्यक्रम छ ।

कोसी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन। रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयु्क्त इजलासमा रिटको पेशी तोकिएको थियो।

कोसीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले)ले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो। एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए।

असार २७ गते रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले साउन ३ गतेभित्र महान्यायाधिवक्तारमुख्य महान्यायाधिवक्ताको कार्यालय प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो। सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारका नाममा आदेश दिएको थियो। रिटमाथिको सुनुवाइका लागि साउन ७ गतेलाई पेसी तोकिएको थियो।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कार्कीका तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमलाई सरकार गठनका बेला भएको दाबी र समर्थनको सक्कल कागजातसहित लिखित जवाफ पठाउन आदेश दिएको थियो। आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सक्कल कागजातसहित लिखित जवाफ पठाइसकेका छन्।

उनीहरूले प्रदेश सरकार संविधान र कानुन अनुसार नै गठन भएको भन्दै मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा जवाफ पठाइएको छ। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्ने संघीय संसद सम्मेलनको निष्कर्ष

काठमाडौं । संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार संसद भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।

संघीय शासन प्रणालीमा संघ र प्रदेश स्वतन्त्र रहने भएकाले राजनीतिक फेरवदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्दै केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणका लागि पहल गर्ने बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए ।

कोशी प्रदेशसभाको बिषयमा सम्मेलनमा छलफल भएको अदालतलाई प्रभाव पार्ने गरि कुनै निष्कर्ष ननिकालेको उनले बताए । सभामुख घिमिरेले व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलव्ध गराउनु सरकारको दायित्व भएकाले आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनैपनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

प्रधानमन्त्री र चिनियाँ नेताबीच भर्चुअल वार्ता

इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनिया नेतासँग भर्चुअल वार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा काठमाडौं आएका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार भर्चुअल संवाद गरेका हुन् ।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।

यस्तै इटाली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिरया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम पुगेका प्रचण्डले नेपाली समुदायले आयोजना गर्ने दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।आइतबार साँझ प्रधानमन्त्रीले युरोपमा रहेका पार्टी निकट कार्यकर्ताहरुसँग अन्तर्क्रिरया गर्ने नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले जानकारी दिए ।

गगन थापाको प्रस्तावमा शेखर कोइरालाको समर्थन, केही बुँदा परिमार्जन गर्न सल्लाह

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक वर्षपछि केन्द्रीय समिति बैठक किन बस्न सकेन भन्ने प्रश्न नेतृत्वलाई सोधेका छन् । जारी केन्द्रीय समितिको आइतबारको बैठकमा नेता कोइरालाले सभापति र पदाधिकारीले यसको जवाफ दिनुपर्ने माग गरेका छन् । अहिलेको बिश्व लोकरिझ्याइँमा चलेको भन्दै सायद केन्द्रीय समितिको बैठक लाइभ गर्नु राम्रै भए पनि कुन बिषय बन्दकोठामा गर्ने र कुन बिषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्ने धारणा राखे ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै रहेको कोइरालाले बताए । ‘कांग्रेस मासबेस पार्टी भनिन्छ, तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ ।

केन्द्रले जिल्लालगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ । किनकि यसले संघियताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ,’ उनले भने ।कोइरालाले कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय नभएको बताउँदै आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौं भनी शपथ खानुपर्ने बताए ।

समाजवादको यात्रा पुरा गर्न सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन वामदेव गौतमको आग्रह

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा आइतबार उनले समाजवादी मोर्चा बनाउनु सकरात्मक देखिएपनि समाजवादको यात्रा पुरा गर्नका लागि सबै कम्यिुतिष्टहरुको एकता हुन आवश्यकता रहेको बताए ।

नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरुको एकताले मात्र संभव हुने उनको भनाइ थियो । विगतदेखि विभिन्न गुट र उपगुटमा छरिएर रहेका कम्युनिष्ट पाटीहरु एक हुुन सकेको अवस्थामा मात्र कम्युनिष्टभित्र शान्ति हुने र देश विकासको बाटोमा अघि बढ्न सक्छ उनले भने ।

एक सय किलो अवैध सुन प्रकरणमा थप ६ जना पक्राउ

केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो


अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना( एकको मृत्यु, ३३ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *